काठमाडौँ, ८ असार यो वर्षको एसइई दिएर बसेर विधार्थीहरुबिचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’मा शिवानी थापामगर उत्कृष्ट भएकी छिन् । काठमाडौँ, कपनको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको यो प्रतियोगितामा शिबानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद र ११ र १२ कक्षाको पूर्ण छात्रवृत्ति जितिन् ।
शनिवार बेलेुका नाचघरमा आयोजित कार्यक्रममा २० अन्तिम प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरे । जस मध्यबाट शिवानीले प्रथम पुरस्कार जितिन् । यस्तै सो प्रतियोगितामा दोस्रो हुँदै एग्रिया सिंहले ५० हजार रुपैयाँ सहित प्लस टुको छात्राबृत्ति र गोविन्द गुरुङ कुसुमले तेस्रो हुँदै ३० हजार रुपैयाँ सहित प्लस टुको पूर्ण छात्रवृत्ति जिते । दुबैले पुरस्कार सहित मेडल र ट्रफी पनि पाए ।
यो च्याम्पियनसिपको ग्रान्ड फिनाले समारोहको निर्णायकमा कोरियोग्राफरहरु गम्भिर बिष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत थिए ।नम्बरको आधारमा यो प्रतियोगिताको विजेतादेखि उत्कृष्ट १० भित्र परेका सबै विद्यार्थीहरूले प्लस टु अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाएका छन् । मनासलु सहित विभिन्न कलेजले प्रतियोगिताका उत्कृष्ट १०मा परेकाहरूलाई प्लस टुको पूर्ण छात्रवृत्ति दिनेछ ।
कार्यक्रममा तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कार सहित प्लस टुको पूर्ण छात्रवृत्ति र पाए भने पब्लिक च्वाइस अवार्ड सहित प्रशिका अधिकारीले पनि प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी हाँसिल गरिन् । यो प्रतियोगितामा ‘बेस्ट स्किल अवार्ड’ सहित गौतम खड्काले प्लस टुको पूर्ण छात्रबृत्ति पाए । एसइई डान्स च्याम्पियनसिप विजेता शिवानी थापामगरका कोरियोग्राफर अविनाश हमालले उत्कृष्ट कोरियोग्राफर भए ।
छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२ को उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए । उनले बिजेताहरु सबैलाई शुभकामना दिए । नृत्य र पढाईलाई सँगै अघि बढाउन सन्देश दिनको लागि आफुले यो प्रतियोगिता आयोजना गरेको आयोजक महेश गोदारले बताए । नेपाली गीत संगीत तथा नृत्य क्षेत्रमा योगदान दिएको भन्दै अग्रज गायक नारायण रायमाझी, नृत्य विज्ञ रामचन्द्र (आरसी) कोइरालालगायतलाई सो समारोहमा सम्मान गरिएको थियो ।
प्रतिक्रिया