+
Search

ताजा अपडेट +

पपुलर +

असमानताको जरो खोज्दै ‘जेनजी’ : भ्रष्टाचार र बेथितिविरुद्ध बोल्दै

असमानताको जरो खोज्दै ‘जेनजी’ : भ्रष्टाचार र बेथितिविरुद्ध बोल्दै
बिशाल खबर
१ हप्ता अगाडी

काठमाडौं । काठमाडौं लगायतका देशका प्रमुख शहरहरूका सडक सोमबार टिकटक, इन्स्टाग्राम, रेडिटजस्ता सामाजिक सञ्जालमा शेयर गरिने नाराहरूबाट गुन्जिए ।

भर्चुअल संसारमा अर्थात् सामाजिक सञ्जालमा सरकारलाई प्रश्न गरिरहेका युवाहरू सामाजिक सञ्जाल छाडेर सडकमा उत्रिएका हुन् ।

Everest Courier Hub Pvt.Ltd

जेन-जी पुस्ताका युवाहरू हातमा प्लेकार्ड र प्लेकार्डमा नागरिकका निराशा र प्रश्न झल्काउने नाराहरूसहित उपस्थित भएका छन् । सँगै उनीहरूले गाइरहेका छन्–

गाउँ–गाउँबाट उठ, बस्ती–बस्ती बाट उठ
यो देशको मुहार, फेर्नलाई उठ …

यो नेपाली शिर उचाली …

सडकमा उत्रिएका यी युवाहरू कुनै पार्टीका कार्यकर्ता होइनन् । उनीहरू स्वतन्त्र नागरिकका हैसियतमा सडकमा आएका हुन् ।

गीतको तालसँगै गाउँ–गाउँ, बस्ती–बस्तीमा लुकेर बसेको असन्तोष अचानक सतहमा आएझै महसुस हुन्छ । पहिले यी असन्तोष आजको पुस्ताले गीत, कविता र मिममार्फत सामाजिक सञ्जालमा पोख्थे, अहिले सडकमा उत्रिएका हुन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरू आफ्नो आवाज भेन्टिलेट गर्न सडकमा आइपुगेका हुन् ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उनीहरूको बुझाइ छ ।

सरकारका कदम र एकपछि अर्को भ्रष्टाचारजन्य काण्डहरूले युवा आक्रोश बढाएको देखिन्छ ।

अचम्म के छ भने यो आन्दोलनमा कुनै ठूला नेता छैनन्, न त कुनै पार्टीको झण्डा। बरू, उनीहरु देशको झन्डा बोकेर सडकमा आएका छन् ।

प्रदर्शनकारीहरू भन्छन्, ‘हामी हरेक युवा नेतृत्व हौं । हामी हरेकसँग विवेक छ र हामी नेतृत्वका लागि योग्य छौं ।’

योसँगै, फिलिपिन्स, इंडोनेसिया, श्रीलंकालगायतका देशमा देखिएका ‘नेतृत्वविहीन आन्दोलन’ ले नेपालमा पनि बिस्तारै आकार लिने संकेत देखिएको छ ।

झापाबाट काठमाडौं आएकी तनुजा पाण्डे भन्छिन्, ‘म सरकारको भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र लोकतन्त्र माथि बारम्बार भइरहेको आक्रमणको विरुद्धमा सडकमा आएकी हुँ ।’

उनले थपिन्, ‘केही मुट्ठीभर मानिस भ्रष्टाचार गरेर धनी भएका छन् । गरिबले दुःख पाइरहेका छन् । गरिब बढिरहेका छन् । असमानता बढिरहेको छ ।’

दलहरूको कतिपय गतिविधिले लोकतन्त्रमाथि बारम्बार आक्रमण भइरहेको उनको बुझाइ छ ।

यो आन्दोलन कसरी अगाडि बढ्ला ? पाण्डेको जवाफ छ, ‘देशभरी प्रदर्शन भइरहेको छ । भरेसम्म हेरौं । आजको आन्दोलन हेरेर बाँकी छलफल गर्छौं ।’

अर्की सहभागी रक्षा बम भन्छिन्, ‘नेता भनेका कर चोर्ने, त्यसबाट विलासी जीवन बाँच्ने, हामीलाई दमन गर्ने मात्रै देखिन्छ। अब युवाले नेतृत्व लिने बेला आएको छ।’

आन्दोलनको नेतृत्व गर्ने कोही छैनन् । उनीहरू भन्छन्, ‘हामी सबै नेता हौं ।’ यही खुलापनले आन्दोलनको दायरा फराकिलो पनि बनाएको छ ।

सामाजिक सञ्जालमा सुरु भएको यो आक्रोश सडकबाट नतिजा निकाल्ने गरी आकारित हुन्छ वा हराउँछ- त्यसको जवाफ समयले दिनेछ।

तर एक कुरा निश्चित छ- युवाले सडक र सञ्जाल दुवैलाई आफ्नो आन्दोलनको रंगमञ्च बनाइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर