+
Search

ताजा अपडेट +

पपुलर +

एकठाउँमा जरा गाडेको रुखलाई अन्त सार्नुहुँदैन, पाप लाग्छ ,भूठान’को ट्रेलर सार्वजनिक

के छ ‘भूठान’को ट्रेलरमा ?

एकठाउँमा जरा गाडेको रुखलाई अन्त सार्नुहुँदैन, पाप लाग्छ ,भूठान’को ट्रेलर सार्वजनिक
बिशाल खबर
५ महिना अगाडी

पछिल्ला वर्षमा भुटानी शरणार्थीमाथि जति नेपाली फिल्म बने, तीभन्दा ‘भूठान’ अवश्य भिन्न छ । यसले एक पात्रमार्फत मानवीय संवेदनालाई चित्रण प्रयत्न गरेको छ । सबैभन्दा मुख्य कुरा यसले भुटानको कथित ‘ह्याप्पी इन्डेक्स’को कटाक्ष गरेको छ ।

‘शरिर छोड्नुअघि हजुरबुबाले भन्नुभएको कुरा मलाई अझै याद छ । एकठाउँमा बलियोसँग जरा गाडिसकेको रुख, अर्को ठाउँमा लगेर सार्नुहुँदैन । पाप लाग्छ’ प्रस्तुत संवाद कथानक फिल्म ‘भूठान : घर हराएको कथा’मा समावेश सबैभन्दा बलियो डायलग हो । यो डायलगले एकैसाथ मानवीय दर्शन, संवेदना र राजनीतिक परिस्थितीले घरबारविहिन हुन बाध्य शरणार्थीको मर्म पेश गर्छ ।

Everest Courier Hub Pvt.Ltd

हुनसक्छ, त्यो डायलग विनोद पौडेल निर्देशित फिल्मको ‘बटमलाइन’ पनि हो । समकालिन राजनीति र कूटनीतिक आयामको ‘टाइम एन्ड स्पेस’मा फिल्म ‘भूठान’को ट्रेलर शक्तिशाली लाग्छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासीमाथि गरेको कडाई, अमेरिकाबाट निष्कासनमा परेका ३ भुटानी शरणार्थी थिम्पुबाट भारत हुँदै यसै महिना पूर्वी नेपालको झापा हुँदै नेपाल छिर्न खोज्दा पक्राउ परेको घटना, अनि नेपाली राजनीति तरंगित बनेको ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणको पृष्ठभूमिले यो फिल्मलाई अझै सघन तुल्याउने पक्का छ ।

‘साँघुरो’ र ‘बुलबुल’जस्ता कलात्मक फिल्म बनाएका निर्माताको पछिल्लो फिचर ‘भूठान’को मर्मस्पर्शी र सिनेम्याटिकरुपमा बलियो ट्रेलर नयाँवर्ष २०८२ सालको सन्दर्भमा युट्युबमा रिलिज भएको छ । ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मनोविज्ञानलाई दर्शाएको छ । ३ मिनेट लामो ट्रेलरले हामीलाई मुख्य पात्र विष्णुबहादुर केसीको आत्मपरक र वस्तुपरक यात्रा गराउँछ । सन् १९८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडी रहेको यो पात्र देशकाल र परिस्थितीले तेस्रो देशको पुनर्वासअन्तर्गत अमेरिकामा छ ।

ऊ जन्मथलो भुटान फर्किन चाहन्छ । धेरैपटक भुटानको भिजा अप्लाइ गरेको छ । सपनामा पनि ऊ ठिंग उभिएको उजाड रुखमुनि पत्नीलाई देख्छ । ऊ मृत्युअघि भुटान पुग्न चाहन्छ । उसको परिवारको नयाँ पुस्ता अमेरिकामै जन्मिएको छ । उसको देह सद्गत गर्दा आउने धार्मिक अन्तरविरोध, पुस्तान्तरणका द्वन्द्व ट्रेलरमा समेटिएको छ ।

सारमा ‘भूठान’को ट्रेलर कला र प्रविधिको राम्रो संयोजन हो । ध्वनि, सम्पादन, रङ संयोजन, मनोदशालाई ट्रेलरमा मर्मस्पर्शी ढंगले पेश गरिएको छ । हरिवंश आचार्यको बाह्य र आन्तरिक द्वन्द्वमार्फत निर्देशकले दर्शकलाई भुटानी शरणार्थीको यात्रामा हिँडाएका छन् । मानवीय मूल्य र स्पर्शलाई पौडेलले कलात्मक रुपमा पोतेका छन् ।

ट्रेलरको अन्त्यमा जलेको घरअघि हरिवंश र अमेरिकी अभिनेता ब्रुस डर्न उभिएका छन् । विम्व र रुपकमार्फत विनोदले जेजसरी कथा भन्ने प्रयास गरेका छन्, यसले दर्शकलाई आकर्षित गर्ने पक्का छ ।

पछिल्ला वर्षमा भुटानी शरणार्थीमाथि जति नेपाली फिल्म बने, तीभन्दा ‘भूठान’ अवश्य भिन्न छ । यसले एक पात्रमार्फत मानवीय संवेदनालाई चित्रण प्रयत्न गरेको छ । सबैभन्दा मुख्य कुरा यसले भुटानको कथित ‘ह्याप्पी इन्डेक्स’को कटाक्ष गरेको छ ।

तेस्रो देश पुनर्वासले कसरी पहिचान र संस्कृतिमाथि प्रहार गरिरहेको छ भन्ने बिलियन डलरको प्रश्नलाई यसले प्रश्न गरेको छ ।

यो फिल्ममा हरिवंशसहित अदिती प्याकुरेल, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, अनुराधा मजुमदार, विमल सुवेदी लगायतको अभिनय छ । म्याड मंकी फिल्म्सको प्रस्तुतिमा ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट एलएलसी, एभरेस्ट इन्टरटेनमेन्ट युएसए र अवेकन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

‘भूठान : घर हराएको कथा’ १२ बैशाखमा प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर