काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल शेयर बजारप्रति लचिलो नीति लिएका छन् । आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै उनले शेयर धितो कर्जाको जोखिमभार घटाउने घोषणा गरेका हुन् ।
मौद्रिक नीतिको समिक्षामा विद्यमान शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने घोषणा गरिएको छ । बैंक वित्तीय संस्थामा अधिक तरलता भएपनि पुँजीकोषमा दवाव हुँदा कर्जा प्रवाह बृद्धि गर्न सकेका छैनन् ।
मौद्रिक नीतिको व्यवस्थाले बैंकहरुको पुँजीकोषमा केही सहजता हुने र यसले मार्जिन कर्जा बृद्धि हुने बताइएको छ । यसैगरी बैंकहरुको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकमा अनिवार्य रुपमा राख्नुपर्ने नगदको सीमा पनि बढाएको छ ।
नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखेपनि वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । हाल बैंकहरुले दैनिक ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया