नेपाली फिल्म उद्योगमा यतिबेला एउटा भिन्न शैलीको प्रचार ट्रेन्ड देखिएको छ । जहाँ केही समयअघि नेपाली फिल्म इतिहासमै सबै रेकर्ड ब्रेक गर्दै ब्लकबस्टर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यतिबेला ३ ओटा फिल्मको प्रचार ट्यागलाईन बन्न पुगेको छ । ती फिल्म हरु हुन् ‘जनै हराएको मान्छे’, ‘कोशेढुंगा’ र ‘अभिमन्यु’ । यस्तै यी ३ ओटै फिल्मले ‘पूर्ण बहादुरको सारङ्गी’लाई आ-आफ्नो ट्यागलाइनमा समावेश मात्रै गरेका छैनन् की अर्को संयोग, यी सबै फिल्म आउँदो भदौ महिनामा प्रदर्शनमा आउदै छ ।
यो सबै हुनुको पछाडि बजारको हल्ला र चर्चालाई नियाल्ने हो भने ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि निर्माण टीम भित्र आएको आपसी मतभेद र टीम फुट्नु हो । ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएपछि यसको निर्माण टिमभित्र केही खटपट देखिएको थियो भने निर्देशक पनि असन्तुष्ट थिए । यतिबेला ‘जनै हराएको मान्छे’ निर्माण युनिटले फिल्मको प्रमुख कलाकार विजय बराल भएका कारण आफ्नो फिल्मलाई “From the Actor of Purna Bahadurko Sarangi” ट्यागलाईन दिएर प्रचारप्रसार गरिरहेका छन् ।
यस्तै ‘अभिमन्यु’ निर्माण युनिटले पनि सोही शैली अपनाएको छ । यो फिल्मका निर्माता विनोद पौडेल, पूर्ण बहादुरको सारङ्गीका निर्माता हुन् । उनले पनि आफ्नो फिल्मको प्रचारप्रसार कन्टेन्टहरुमा “”From the Makers of Purna Bahadurko Sarangi” ट्यागलाईन देखिन्छ । यस्तै अर्को फिल्म ‘कोशेढुंगा’ फिल्म युनिट पनि यही प्रतिष्पर्धामा छन् । यो फिल्मका निर्देशक सरोज पौडेल, पूर्ण बहादुरको सारङ्गीका निर्देशक हुन् । त्यसैले उनले पनि ‘ कोशेढुंगा ‘ को प्रचार कन्टेन्टमा “From the Director of Purna Bahadurko Sarangi” लेखेको देखिन्छ ।
संयोगवश, सल्लाह वा प्रतिस्पर्धाका लागि एकअर्कासँग नजुधे पनि यी तीनवटै फिल्म भदौ महिनामै प्रदर्शनमा आउँदैछन्, जसले नेपाली बक्स अफिसमा एक रोचक प्रतिस्पर्धा देखिएको छ । जनै हराएको मान्छे भदौ ६ गते, कोशेढुंगा भदौ १२ गते र अभिमन्यु भदौ २७ गते प्रदर्शन हुँदैछ । यहाँ कुनै फिल्म एकअर्का सँग जुधेका छैनन् । तर, आ-आफ्नो तरिकाले आ-आफ्नो फिल्मबाट विगतको प्रतिफलको फाईदा एउटै महिनाबाट उठाउन लागिपरेको देखिन्छ । यो रोचक देखिन्छ ।
यसैबीच, ‘पूर्ण बहादुरको सारङ्गी’का अर्का निर्माता प्याट्रिक सुवेदीले पनि ‘चुलेनिम्तो’ नामक नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । यस फिल्मको प्रचारप्रसार सामग्रीमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ कै ट्यागलाइन प्रयोग हुनेछ भन्ने दुईमत छैन । यी फिल्म निर्माण युनिटहरुले अब कहिले सम्म यो ट्यागलाइन लगाइरहने हुन्, त्यो भने आगामी दिनको बताउने छ ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्माण टिम विभाजित हुनु र निर्देशकको असन्तुष्टिले नयाँ परियोजनाहरूलाई कसरी उत्प्रेरित गरेको छ भन्ने यो घटनाले देखाउँछ । अभिनेता विजय बरालको ‘जनै हराएको मान्छे’मा मुख्य भूमिका पनि यसै सन्दर्भमा हेर्न सकिन्छ, यद्यपि उनको मनमुटाव भने नभएको चर्चा छ । यो अवस्थाले नेपाली फिल्म उद्योगमा एउटा फिल्मको सफलता वा चर्चाले नयाँ फिल्महरूलाई कसरी प्रभाव पार्न सक्छ र नयाँ प्रचार रणनीतिहरू कसरी विकास हुन सक्छन् भन्ने उदाहरण पेश गरेको छ । अब हेर्न बाँकी छ, भदौमा यी तीन फिल्महरुले बक्स अफिसमा कस्तो प्रभाव देखाउँछ, र ‘पूर्ण बहादुरको सारङ्गी’को विरासत कायम राख्न कति सफल हुन्छ ? त्यो प्रतिक्षाको विषय बनेको छ ।
प्रतिक्रिया