+
Search

ताजा अपडेट +

पपुलर +

एमाले केन्द्रीय कमिटी बैठक : विद्याको समर्थनमा बोल्दा नेताको अनुहारमा परिवर्तन

एमाले केन्द्रीय कमिटी बैठक : विद्याको समर्थनमा बोल्दा नेताको अनुहारमा परिवर्तन
बिशाल खबर
१ महिना अगाडी

काठमाडौँ । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । यही क्रममा मंगलबारको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु दीपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना धारणा राखेका छन् । त्यसबाहेक इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार,तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी,राम राना, टङ्क आङ्बुहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि आफ्ना धारणा राखेका छन् ।

बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय नेताहरू लामो समय काठमाडौँमै बस्ने गर्दा स्थानीय तहमा जनसम्पर्क कमजोर हुन थालेको बताए । उनले पार्टीले पठाएका जनप्रतिनिधि निजामतीका हाकिम जस्तो चरित्र देखाउन थालेको भन्दै उनीहरूको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरे ।

Everest Courier Hub Pvt.Ltd

बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउँदै गएकोले मिसन ०८४ मा समस्या ल्याउनेतर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख समेत गरे । उनले पूर्व राष्ट्रपति विद्या भण्डारीबारे भइरहेको बहसप्रति पनि असन्तुष्टि जनाएको एक केन्द्रीय सदस्यले बताए ।

‘पूर्व राष्ट्रपति विद्या भण्डारीप्रति हिलो छ्याप्ने काम राम्रो होइन । उहाँले नेतृत्व लिन्छु भनिरहनु भएको छैन,पार्टी सदस्यता मात्र नवीकरण गरेको भन्दा कोकोहोलो मच्चाउनुपर्ने ? हिलो छ्याप्नुपर्ने ? दुर्वाच्य बोल्नुपर्ने’, उनको प्रश्न थियो । यस्तो व्यवहारले राजनीतिक मर्यादा र ओज बढ्नुको साटो घट्ने भन्दै बास्कोटाले कटाक्ष गरे । बास्कोटासँग मिल्दोजुल्दो अर्का सदस्य रामलाल शाहको पनि थियो । दीपक कार्कीले नेता केपी ओली नै भए पनि विद्या भण्डारीमाथिको आरोप ठिक नभएको बताएका थिए भने रेनुका काफ्ले र नैनकला ओझाले पनि भण्डारीका विषयमा भइरहेको अनावश्यक तर्क-विर्तकले कहीँ नपुगिने बताए ।

तर, अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए । उनले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिए ।

केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पारेकाले आज पनि आपसी समझदारीमै विवादलाई टुङ्ग्याउनु पर्ने धारणा राखिन् ।

बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । बागमतीका सदस्य पार्वती रावल, नविना लामा, कैलाश ढुंगेल लगायतले पनि विद्यामाथिको आक्रमण जायज नभएको सुझाव राखेका थिए ।

‘विद्याको पक्षमा बोल्दा उनीपक्षधर शीर्ष नेताको अनुहार उज्यालो देखिन्थ्यो भने अरूको अनुहार अलि अँध्यारोजस्तो देखिन्थ्यो’, बैठकमा सहभागी एक नेताको भनाइ छ ।

सोमबार देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस,गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरूले हिजै धारणा राखिसकेका छन् । बैठकमा मुख्यतः पार्टी सचिवालय र पोलिटब्युरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ । केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संशोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर