+
Search

ताजा अपडेट +

पपुलर +

कर्जाको ब्याजदर २५ महिनादेखि निरन्तर घट्दै, औसत ब्याजदर ८.२२ प्रतिशतमा झर्यो, कुन शिर्षकमा कति ?

कर्जाको ब्याजदर २५ महिनादेखि निरन्तर घट्दै, औसत ब्याजदर ८.२२ प्रतिशतमा झर्यो, कुन शिर्षकमा कति ?
बिशाल खबर
१० मिनेट अगाडी

काठमाडौं । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । कर्जाको ब्याजदर सस्तो भएपनि अर्थतन्त्रको बाह्य पक्ष सबल देखिएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । २०७९ फागुन यतादेखि कर्जाको ब्याजदर निरन्तर घटेको छ ।

Everest Courier Hub Pvt.Ltd

रेमिट्यान्स आप्रवाहमा आएको सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न मुलुकबाट नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह १० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे अनुसार कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या रहेको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत घटेको छ । जसले गर्दा आधार घट्दा कर्जाको ब्याजदर समेत तल झरेको छ । तर, पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदरमा ८ प्रतिशत नजिक झरेको छ । चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.२२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको चैतमा कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर २.३३ प्रतिशत विन्दुले घटेको हो ।

त्यसैगरी, चैतमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५९ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ । २०८० चैतमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको थियो ।

औसत आधार दर घटेकाले बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो । अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.२९ प्रतिशतमा झरेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्।

यस्तै, २०८१ चैतमा विकास बैंकहरुको औसत आधार दर ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ । २०८० को चैतमा विकास बैंकहरुको औसत आधार दर १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत रहेको थियो ।

२०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरुको ५.२२ प्रतिशत र वित्त कम्पनीहरुको ६.२४ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम थियो।

कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर पनि घटेको हो । हाल वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर ९ प्रतिशत भन्दा तल नै रहेको छ ।

राष्ट्र बैंकका अनुसार यसअघि २०७८ असारमा कर्जाको भारित औसत ब्याजदर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म झरेको थियो । त्यसपछि निरन्तर बढ्न थालेको कर्जाको भारित औसत ब्याजदर २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसपछिका फेरि निरन्तर २५ महिनादेखि कर्जाको औसत ब्याजदर घट्दो क्रममा रहेको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा ८.२२ प्रतिशतमा झरेको हो । २५ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर ४.८१ प्रतिशत विन्दुले घटेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । चैत मसान्तसम्म सबैभन्दा उच्च ब्याजदर रहेको अन्य शिर्षकको कर्जाको ब्याजदर नै ८.७९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यो शीर्षकमा कर्जाको भारित औसत ब्याजदर ११.२० प्रतिशत थियो । यस अवधिमा विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ६.९४ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर ९.५४ प्रतिशत थियो ।

यस्तै, चालु आर्थिक वर्षको चैत महिनामा ओभर ड्राफ्ट कर्जा ब्याजदर ८.६४ प्रतिशत कायम भएको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जाको ब्याजदर १२.१७ प्रतिशत रहेको थियो । चैतसम्म आवधिक कर्जा ब्याजदर ८.३० प्रतिशत कायम भएको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जाको ब्याजदर ११.०२ प्रतिशत रहेको थियो । चालु पुँजी कर्जाको ब्याजदर पनि ७.३१ प्रतिशतमा झरेको छ । गत वर्षको चैतमा १०.८३ प्रतिशत रहेको थियो । आवासीय कर्जाको ब्याजदर गत वर्षको चैतमा १०.९१ प्रतिशत रहेकोमा यो वर्ष ८.४४ प्रतिशतमा झरेको छ । यस्तै, रियल स्टेट कर्जाको ब्याजदर ८.५५ प्रतिशत छ ।

यसैगरी, शेयर धितो कर्जाको ब्याजदर पनि निरन्तर घट्दो क्रममा छ । चैतसम्म यो कर्जाको ब्याजदर ८.१२ प्रतिशतमा झरेको छ । गत आवको चैतमा शेयर धितो कर्जाको ब्याजदर ११.२० प्रतिशत थियो । चैतमा हायर पर्चेज कर्जाको ब्याजदर पनि ८.५९ प्रतिशतमा आएको छ । यस्तै, क्यास क्रेडिट कर्जाको ब्याजदर ८.२५ प्रतिशतमा झरेको छ । बिल खरिदतर्फको ब्याजदर पनि घटेर ७.९२ प्रतिशतमा आएको छ ।

चैतसम्म बैंकहरुको स्प्रेडदर ३.७७ प्रतिशत छ । गत आवको पुससम्ममा यस्तो दर ४.०२ प्रतिशत थियो । कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर स्प्रेड दर हो । यस्तै, २०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर बचतमा ३.३९ प्रतिशत, मुद्दतिमा ६.१० प्रतिशत छ । यस अवधिमा निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ ।

आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा लगानी बढाउन नसकेपछि बैंकहरुले प्रणालीमा भएको अधिक रकम अल्पकालीन उपकरणहरुमा लगानी गर्दै आएका छन् । बैंकरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा पैसा राख्ने गरेका छन् । पछिल्लो एक वर्ष यता वित्तीय प्रणालीमा साढे ६ खर्ब लगानीयोग्य रकम रहदै आएको छ ।

चालु आर्थिक वर्षको ९ महिना अर्थात साउदेखि चैतसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप.३ खर्ब ६१ अर्ब ३ करोड कर्जा विस्तार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर