+
Search

ताजा अपडेट +

पपुलर +

‘एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन’

‘एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन’
बिशाल खबर
२८ मिनेट अगाडी

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् । शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको आरोप लगाएका हुन् ।

Everest Courier Hub Pvt.Ltd

उनले ७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरूबाट बचाउन नसकेको जिकिर गरे । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तर्विद्रोह पैदा गर्ने काम गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘०७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाइको बनायौँ । थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाइ हुन । त्यस ठाउँमा हामीले कम्युनिस्ट आन्दोलनलाई पुर्‍यायौँ । वामपन्थी आन्दोलनलाई पुर्‍यायौँ । तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्त्वहरू छटपटाए । अन्य शक्तिहरू बाह्य शक्तिहरू पनि छटपटाए । उनीहरूले यिनलाई उचाल्न थाले । र पार्टीभित्रका केही तत्त्वहरू पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए । हामी विकासको लागि अगाडि बढ्न थाल्यौँ । तर नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरू त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तर्विद्रोह पैदा गर्ने काम भयो ।’

दलको नेताकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने तर संसद्मा अरू तत्त्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको ओलीले टिप्पणी गरे । उनले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही स्थानमा रहेको बताए । प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरू सरकारमा रहेको बताए ।

उनले भने, ‘संसदमा अरू विभिन्न प्रकारका तत्त्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रूपमा केही कडा कदम चाल्नपर्‍यो । वास्तवमै पार्टी उनीहरूले हामीले एकीकरणका मनसायले एकीकरण गर्‍यौँ । उनीहरूले गलत ढङ्गले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनसायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरू चाल्नुपर्‍यो । आज हैसियतका साथ छौँ । तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ । सहज परिस्थिति थिएन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताए । उनले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताए । अरूको नेतृत्वमा विगतमा सम्भव भए पनि आफू नेतृत्वमा रहँदासम्म प्रतिगमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव छैन । यो सम्भव छैन । हामी सम्भव हुन दिँदैनौँ । अरूको नेतृत्वमा समय समयमा भएका होलान् तर हाम्रो नेतृत्वमा प्रतिगमन नसोचे हुन्छ । साह्रै ठुलो मूल्य चुकाउनुपर्नेछ, प्रतिगमनका निम्ति कोसिस गर्नेहरूले । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन सक्दैन । यो कुरा जनताको बहुदलीय जनवादको प्रकाशमा नै हामी गरिरहेका छौँ । लोकतन्त्रलाई एउटा परिपूर्ण लोकतन्त्रको नाममा, लोकतन्त्रलाई परिपूर्ण लोकतन्त्रका रूपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकतामार्फत राष्ट्रिय लोकतन्त्र । सामाजिक न्याय, समानताको आधारमा राष्ट्रिय एकता । त्यस माध्यमबाट र एकताबद्ध प्रयासबाट राष्ट्रिय हितहरूको रक्षा, संवर्द्धन पूर्ण रूपमा, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रूपमा । अर्थात् यहाँ कुनै प्रतिगमनको लागि स्पेस छैन । प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुनेछैन । त्यति जनताको बहुदलीय जनवादले सिकाएको छ । त्यस मान्यतामा हामी अघि बढेका छौँ । मार्क्सवाद, लेनिनवादले हामीलाई सिकाएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले नेपालमा कुनै सङ्कट नरहेको बताए । प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकूल परिस्थिति भएको र अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताए । महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसाबले घेर्ने काम भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने- ‘आजको परिस्थिति भनेको एउटा अनुकूल परिस्थिति हो । यस अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ । किनभने उहिले महाभारतको युद्धमा युधिष्ठिरलाई क्याप्चर गर्न, युधिष्ठिरलाई बन्दी बनाउन खोज्थे, किनभने राजा समातियो, राजा बन्दी भयो भने युद्ध समाप्त हुन्छ । नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरूले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्ने कुरा बुझेका छन् । नेपालमा हामी सतर्क छौँ ।’

ओलीले भने- ‘नेकपा एमाले हरेक परिस्थितिको सामना गरेर अघि बढ्न तयार छ । हामी कहाँ केही कुराको पनि त्यस्तो क्राइसिस छैन । क्राइसिस छैन । तपाईँहरू एकदम ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्नुस् । हामीलाई बाटो देखाउन मार्क्सवाद, लेनिनवाद छ, जनताको बहुदलीय जनवाद छ । हाम्रा प्रेरणाका श्रोत, मदन भण्डारी, जीवराज आश्रित जस्ता महान् नेताहरू हुनुहुन्छ । जसले हामीलाई सही ढङ्गले मार्ग निर्देशन गरेका छन् वैचारिक रूपले ।’

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर