काठमाडौं । साउन महिनाको पहिलो सोमबार, आराध्यदेव पशुपतिनाथको मन्दिरमा आस्थाको सागर उर्लिएको छ । बिहान ब्रह्म मुहूर्तदेखि नै ‘हर हर महादेव’को जयकारले गुञ्जायमान पशुपति क्षेत्रमा झरीको समेत परवाह नगरी हजारौँ भक्तजन दर्शनका लागि भेला भएका छन् । यी तस्बिरहरूले पशुपतिनाथमा देखिएको त्यही भक्तिभाव र समर्पणको अनुपम दृश्यलाई कैद गरेका छन् ।
बिहान ३ बजेदेखि नै पशुपतिका चारैवटा ढोका खुला गरिएसँगै दर्शनार्थीको लामो लाम सुरु भएको थियो । हरियो, पहेँलो र रातो जस्ता शिवप्रिय रङका वस्त्रमा सजिएका महिलाहरू, हातमा पूजा सामग्री र बेलपत्र लिएका श्रद्धालुहरूको भीडले पशुपति क्षेत्रमा धार्मिक उल्लास छाएको छ । खाली खुट्टा र भक्तिभावले ओतप्रोत अनुहारहरू भगवान् शिवप्रतिको गहिरो आस्थाको प्रतीक बनेका देखिन्थे ।
शास्त्रअनुसार श्रावण महिना भगवान् शिवलाई सबैभन्दा प्रिय लाग्छ । यही महिनामा देवी पार्वतीले कठोर तपस्या गरी महादेवलाई पति पाएको र शिवले समुद्र मन्थनबाट निस्किएको विष पिएर सृष्टिको रक्षा गरेको धार्मिक विश्वास छ । यसैले साउने सोमबारमा पशुपतिनाथको दर्शन तथा जलाभिषेक गर्नाले पारिवारिक सुख, मानसिक शान्ति र मनोकांक्षा पूरा हुने जनविश्वासले हरेक वर्ष यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
पशुपति क्षेत्र विकास कोषले यस वर्ष भक्तजनको सुविधालाई ध्यानमा राख्दै विशेष व्यवस्था मिलाएको छ । कोषका अनुसार, भक्तजनले लाइनमा बसेको एक घण्टाभित्रै दर्शन गरेर फर्कन सक्ने गरी व्यवस्थापन गरिएको छ ।
दर्शनार्थीको सहजताका लागि चक्रपथका विभिन्न स्थानबाट पशुपतिसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । साथै, मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै स्वास्थ्य शिविर, शुद्ध खानेपानी र प्राथमिक उपचारको समेत व्यवस्था मिलाइएको छ, जसले गर्दा भक्तजनले सहज र सुरक्षित रूपमा दर्शन गर्न पाएका छन् ।
प्रतिक्रिया